Nepal in Hillary's autobiography- Living History Translated

1470817463_hillary_elephant.jpg

Hillary and Chelsea riding Elephant in Nepal

नेपालबारे हिलारी क्लिन्टनले जे लेखेकी छन्.....

आत्मकथा ‘लिभिङ हिस्ट्री’मा नेपाल भ्रमणको अनुभूति

अहिले अमेरिकामा राष्ट्रपति निर्वाचनको माहोल अत्यन्त तातेको छ । डेमोक्रेटिक पार्टीले अमेरिकी इतिहासमा पहिलोपटक महिला उम्मेदवारलाई राष्ट्रपति निर्वाचनको रेसमा उभ्याएको छ । उनी सन् १९९५ मा छोरी चेल्सीसँग नेपाल भ्रमणमा पनि आएकी थिइन् । त्यतिवेला उनी अमेरिकी प्रथम महिला थिइन् । सन् २००३ मा प्रकाशित उनको आत्मकथा ‘लिभिङ हिस्ट्री’मा उनले नेपाल भ्रमणबारे पनि लेखेकी छिन् । त्यही पुस्तकको नेपाल सन्दर्भको अनौपचारिक अनुवाद : 
 
'....अर्को दिन समुद्री सतह (गुजरात)बाट हामी नेपालको राजधानी काठमाडौंका लागि उड्यौँ । त्यो उडानमा पनि मैले अघिल्लो दिनका कुरा सम्झिरहेकी थिएँ । हिमाल–पहाडबीच करिब ४२ सय फिटको उचाइमा अवस्थित काठमाडौं वरपरबाट पहाडहरूले घेरिएको छ । अमेरिकाको साल्ट लेक सिटीजस्तै उचाइमा भएको काठमाडौंबाट एउटा सफा दिनमा हिउँले ढाकिएका मनमोहक चुचुराहरू देखिन्छन् ।
 
नेपालको भौगोलिक बनावट तथा दृश्य विश्वकै सबैभन्दा सुन्दर दृश्यमध्ये एक हो । तर, मानव बसोवास भएका यहाँका ठाउँहरूमा अत्यन्त भीडभाड छ । यहाँ मानव फोहोर प्रांगारिक मलका रूपमा प्रयोग गरिन्छ र सफा पिउने पानी पाउन कठिन छ ।
 
कतिसम्म भने मैले भेटेका सबै अमेरिकीले एउटा न एउटा रोगलाई पराजित गरेका थिए । नेपालमा केही समय बिताएपछि उनीहरूलाई विभिन्न रोग लागेको र त्यसलाई जितेको कथा उनीहरूसँग थियो । मानौँ, यो एउटा अनिवार्य परिघटना हो र उनीहरू त्यसलाई आत्मसात् गरिरहेका छन् । मसँग भेट भएका पिस कोप्र्सका सदस्यहरूले पनि टिसर्ट लगाएका थिए, जसमा उनीहरूले जितेका रोगहरूको सूची थियो ।
 
यही डरका कारण हामीले नेपालमा अत्यन्त धेरै सावधानी अपनायौँ । यो यसकारण पनि आवश्यक थियो कि हामी यात्राको आधाआधीतिर थियौँ र हामी बाँकी यात्रा गुमाउन चाहँदैनथ्यौँ । एक दिन मात्र पनि बिरामी परिएको खण्डमा यात्राका सारा कार्यक्रम प्रभावित हुने थिए ।
 
हामीले यही कुरा आयोजकलाई पनि जानकारी दिएका थियौँ । त्यसैले पनि उनीहरू हाम्रा चासोलाई सम्बोधन गर्न दत्तचित्त भएर लागे । ‘मम, तपाईं विश्वास गर्नै सक्नुहुन्न, सेक्रेट सर्भिस एजेन्टहरूले मलाई जे भनेका छन्, त्यो तपाईं पत्याउनै सक्नुहुन्न,’ अचम्म मान्दै छोरी चेल्सीले पहिलो दिनमै भनी, ‘उनीहरूले भने– हामी आउनुअघि स्विमिङ पुल पूरै सुकाइयो र त्यसमा बोतलको पानीले भरियो ।’ मैले त्यो सही थियो वा थिएन भनेर कहिल्यै खोजी गरिनँ, तर त्यसो गरिएकै हुन्थ्यो भने पनि त्यसले मलाई आश्चर्यचकित पार्ने थिएन ।
 
राजदरबारमा शिष्टाचार भेटका क्रममा राजा वीरेन्द्र वीरविक्रम शाहदेव र रानी ऐश्वर्याले मलाई भुइँमा ठूलो बाघको छाला ओछ्याइएको कक्षमा स्वागत गरे । रानीसँग त विमानस्थलमा पनि भेट भएको थियो र उनले मसँग कुराकानी गर्न आफू प्रतीक्षारत रहने बताएकी थिइन् । मैले सोचेकी थिएँ, रानीसँग नेपालको स्वास्थ्य सेवा तथा किशोरीहरूको शिक्षाका बारेमा मज्जाले कुराकानी गर्नेछु, तर दरबारमा उनीसँग कुरा गर्न पाइएन । दरबारमा भएको त्यो भेटमा सबै कुरा राजासँग मात्र भयो । रानी अधिकांश समय हाम्रो कुराकानी सुनेर मात्र बसिन् ।
 
केही वर्षअघि मात्र उनले नेपाललाई लोकतान्त्रिक बाटोतर्फ लैजान आफ्ना केही अधिकार दलहरूलाई दिएका थिए । त्यसवेला यो राष्ट्र प्रतिनिधिमूलक सरकार संस्थागत गर्ने संक्रमणबाट गु्रजिरहेको थियो र उनी सम्भावित अमेरिकी सहयोग र लगानीबारे कुराकानी गर्न खोजिरहेका थिए । त्यसवेला नेपालका ग्रामीण भूभागले  माओवादी गुरिल्लाहरूबाट हिंसा र अशान्ति भोगिरहेको पनि थियो ।
 
तथापि, शाही परिवारलाई माओवादी गतिविधिभन्दा दरबारभित्र रहेका विकृतिबाट बढी खतरा थियो । अहिले पनि विश्वास गर्न गाह्रो भइरहेको छ, केही वर्षपछि राजा र रानीसहित राजाको पारिवारका आठ सदस्यको त्यही दरबारमा गोली हानी हत्या भयो । आधिकारिक रिपोर्टहरूका अनुसार उनीहरूका हत्यारा युवराज थिए, जो आफ्नी प्रेमिकालाई बिहे गर्न नपाएकोमा आक्रोशित भएका थिए ।
 
भोलिपल्ट सबेरै, चेल्सी र म सहरभन्दा माथि पहाडमा लामो पैदलयात्राका लागि गयौँ । मानिसहरू हामी अघि बढेको हेर्न सडकका दायाँ–बायाँ उभिएका थिए । उज्याला आँखा भएकी करिब १०–११ वर्षकी केटीले हाम्रो साथ दिई । तिनी टुटेफुटेको अंग्रेजीमा कुराकानी गर्थिन्, धेरैजसो न्युयोर्क सिटी वा क्यालिफोर्नियाको नाम लिन्थिन्, जसलाई उच्चारण गर्नेक्रममा ‘ठूलो’ वा ‘सुखद’जस्ता विशेषण जोड्थिन् । त्यसपछि तिनी यसरी समर्थनमा टाउको हल्लाउँथिन् अथवा हाँस्थिन्, मानौँ हामी लामो कुराकानी गरिसकेका पुराना मित्र हौँ ।
 
हामी जति–जति माथि गयौँ, मैले देखेँ– कसरी सम्पूर्ण जमिन केही न केही प्रयोजनका लागि सदुपयोग भएको थियो, आवास निर्माण गर्न, गरा–गरा बनाएर खेती गर्न वा बुदिस्ट गुम्बाहरू बनाउन । मैले हाम्रो सबैभन्दा नजिकको गुम्बामा बजेको घन्टीको आवाज सुनेँ र फहराइएका सेता पवित्र ध्वजापताका देखेँ । जब हामी फर्कियौँ, उक्त केटीका बाबु हामीलाई पर्खिरहेका थिए । त्यसवेला, मैले थाहा पाएँ, ती केटी केहिल्यै स्कुल गएकी छैनन् । तर, उनले पर्यटकहरू तथा पदमार्गीको सरसंगतबाट थोरबहुत अंग्रेजी सिकेकी थिइन् ।
 
ती केटीका बाबुका अगाडि मैले उनको बुद्धिमता र जिज्ञासु स्वभावको तारिफ गरेँ, तर उनले मेरो कुरा राम्ररी बुझे होलान् भन्नेमा मलाई द्विविधा छ । कृतज्ञता वा चासो व्यक्त गर्न पैसा दिनु पर्याप्त हुन्थ्यो भन्ने मलाई पनि लाग्दैनथ्यो, त्यसैले मैले उनकी छोरी मूल्यवान् छिन् भन्ने बुझेँ भन्ने उनका बाबुले बुझून् भन्ने चाहेँ । मैले उनको काम, नैतिकता र कुशलताले उनको परिवारको स्थितिमा सुधार आउने विश्वास व्यक्त गरेँ । मैले उनका लागि अलग खालको विकल्पको खोजी गर्नका लागि प्रेरित गर्न कोसिस गरेँ । मलाई वेला–वेला लाग्छ, पछि उनी के भइन् होला, उनले के गरिन् होला ?
 
त्यो बिहानको अबेरतिर हामी महिलालाई लक्षित गरेर सञ्चालित स्वास्थ्य क्लिनिक हेर्न गयौँ, जुन नेपालमा बसोवास गरिरहेकी अमेरिकी महिलाले स्थापना गरेकी थिइन् । नेपालमा संसारकै सबैभन्दा बढी मातृ तथा बाल मृत्युदर छ, प्रति एक लाख जन्ममा आठ सय ३० । विश्वमा यो सरदर चार सय छ भने अमेरिकामा त मात्र सातजना । युएसएड, सेभ द चिल्डे«न र नेपाल सरकारको साझेदारीमा चलेका यी क्लिनिकहरूमा रोकथामका लागि साधारण प्रविधिको प्रयोग गरिन्थ्यो । त्यस्तै, उक्त क्लिनिकले गर्भवती महिला तथा सुडेनीका लागि ‘घरमै सुत्केरी गराउने सामग्री’ वितरण गर्ने कार्यक्रम पनि सञ्चालन गथ्र्यो । त्यसमा सुत्केरी गराउँदा सुताउने प्लास्टिकको टुक्रा, एउटा साबुन, सानो रस्सी, सुडेनीलाई हात तथा भाँडाकुँडा धुने साबुन, सफा रेजर ब्लेड, गर्भनाल बाँध्नका लागि आवश्यक पर्ने तार संलग्न हुन्थ्यो । यत्ति सामग्रीले पनि एउटी आमा र उनको बच्चाको जीवन बचाउन ठूलो भूमिका खेल्थ्यो ।
 
बाटोमा परेको नेपालको दक्षिणी क्षेत्रमा पर्ने चितवन राष्ट्रिय निकुञ्जमा चेल्सी र मैले हात्ती चढ्यौँ । इमानदारीपूर्वक भन्ने हो भने त्यहाँ फोटो खिचिनेछ भन्ने मलाई थाहा थिएन, अन्यथा म जिन्सको पाइन्ट लगाउने थिएँ । मैले त ‘आउट अफ अफ्रिका’मा बयान गरेजस्तो खाकीको सर्ट, स्कर्ट र ह्याट लगाएकी थिएँ । चेल्सी र मैले हात्तीमाथि चढेर दुर्लभ एसियाली गैँडा हेरिरहेको फोटो संसारभरि पुग्यो । पछि, जब हामी वासिंटन फर्कियौँ, जेम्स कारभिल्ले (डेमोक्रेटिक पार्टीसँग सम्बद्ध राजनीतिक समीक्षक) ले ठट्टा गरे– के तपाईंलाई त्यो मन प-यो ? तपाईंले जनताले उत्तम स्वास्थ्य सेवा पाऊन् भनेर दुई वर्ष व्यतीत गर्नुभयो, तर उनीहरूले तपाईंलाई मार्न पो खोजे । तपाईं र चेल्सीले हात्ती चढ्नुभयो र तिनले तपाईंलाई माया गरे !’ -(नयाँ पत्रिकाबाट) 

 

Be the first to comment

Please check your e-mail for a link to activate your account.